अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा हिजाे आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानाकारी दिए ।
मङगलवार साँझ ७ बजेतिर जयगढ बजारमा रहेको आईएमई सेन्टरभित्र खाना पकाउने ग्यास बिष्फाेट भएपछि आगो शुरू भएको उनले बताए ।
आगोले १५ वटा कच्ची टिनका टहरा, १० वटा ढुङ्गा–माटोका घर र २ वटा पक्की घर पूर्णरूपमा जलेका हुन् । आगोले २७ घरमा रहेका ३० वटा पसल जलेका प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने भएको छैन । झन्डै ६ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएकाे थियाे । साँघुरो गल्लीका कारण मङ्गलसेन नगरपालिकाबाट गएको दमकल प्रयोग गर्न नसकिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।


