भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेलाई भैरहवा कारागार चलान गरीएकाे छ । कारागार जानु अघि उलने अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि कारागार चलान भएका लामिछानेले त्यस्ताे प्रतिकृया दिएका हुन् ।
उच्च अदालतको आदेशपछि काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’
सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवै पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए । जसउपर गत शुक्रवार उच्च अदालतले सुनुवाई गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए ।


