विराटनगर । छाडा कुकुरको टोकाइबाट मोरङमा १ जनाको ज्यान गएको छ । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा कुकुरले टोक्दा मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको ज्यान गएको हो ।
स्थानीयका अनुसार मगरलाई बिहीबार बिहान ९ बजे कुकुरले टोकेको थियो । दायाँ खुट्टाको पिँडुलामा कुकुरले टोकेपछि उनी सडकमा ढलेका थिए । सडकबाट स्थानीयले उद्दार गरी नगर अस्पताल बेलबारी लगेका थिए ।
बेलबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । कोशी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
कुकुरले टोकेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको ज्यान गएको चिकित्सकले बताएका छन् ।


