एजेन्सी । भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोटपछि आगलागी हुँदा २० जनाको ज्यान गएको छ । अन्य ५ जना घाइते भएका छन् ।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर रहेका भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
विस्फोटका कारण कारखानाको स्ल्याब खसेर मजदुरहरु पुरिएका थिए । घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन । प्रहरीले कारखाना मालिकविरुद्ध मुद्दा दर्ता गरेको छ ।
सरकारले मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना दाेहोरिने गरेकाे छ ।


