काठमाडौं । चैत्र १५ गते राजधानीकाे तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे हुन नसक्दा पाेष्टमार्टममा ढिलाइ भएको छ ।
पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरिरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न अस्वीकार गरेको कुरा बाहिरीएकाे हाे ।
राजावादी प्रदर्शनमा मृत्यु भएका २ जना मध्य सबिन महर्जनकाे भने पोस्टमार्टम भइ सकेकाे छ । उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
सामाजिक सञ्जालमा रजकलाई गोली लागेको भन्ने हल्ला चलेपछि पोर्टबल एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान लिएकाे हाे ।
पुरै शरीरको पोर्टेबल एक्स–रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स–रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको छ ।
पोर्टेबल एक्स–रे बाट गोली लागे–नलागेको कुरा थाहा हुने एक चिकित्सकले बताए ।


