गोरखा । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाले जिल्ला प्रशासन कार्यलय गोरखालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासङ्घ गोरखा शाखाले केन्द्रिय निर्णय अनुसार जिल्ला प्रसासन कार्यालयलाई गोरखामा पत्रकारले ध्यानाकर्षण पत्र बुझाएको हो ।
निरंकुश राजतन्त्रको बेला जनतामा सचेतना जगाउन नेपालको मिडिया क्षेत्रले विगतमा जुन भूमिका खेलेको थियो, त्यो अझै पनि खेल्ने छ भन्ने विश्वास गर्दै मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको माग गर्दछौ ध्यानाकर्षण पत्रमा उल्लेख भनिएको छ ।
पत्रकार र सञ्चारमाध्यम माथि हुने श्रंखलाबद्ध आक्रमणको अन्त्य हुनुपर्छ, कुनैपनि घटनाका दोषी जुनसुकै दल, संगठन वा संस्थामा आवद्ध भएपनि कारवाही गर्नुपर्छ र सुरक्षित र स्वतन्त्र पत्रकारिताको प्रत्याभूति गराउनु पर्छ भन्ने पत्रकार महासंघको जोडदार माग रहेको छ ।
ध्यानाकर्षणपत्रमा पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन जोडदार माग गरिएको छ ।
एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार नभए महासङ्घ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइएको छ ।
पत्र बुझ्दै साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आन्दोलनका क्रममा जनधनको जुन क्षति भएको छ, सत्यतथ्य पत्ता लगाएर राज्यको तर्फबाट गर्नुपर्ने सहयोग तथा दोषीलाई कानुनी कठघरामा ल्याउन सरकार लागी परेको बताए ।
शुक्रबार काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पुर्याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गामुढा गरी क्षति पुर्याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियाे ।


