काठमाडौं । म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा पनि ७०४ जनाले ज्यान गुमाएका छन् । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) ले भूकम्पमा परी हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।
म्यानमारमा गएकाे भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो। म्यानमारको सैनिक सरकारले कम्तीमा ६९४ जनाको मृत्यु भएको र १ हजार ६७० जना घाइते भएकाे पुष्टि गरेको छ ।
थाइल्याण्डमा भने १० जनाको ज्यान गएको छ । शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । यो म्यानमार र थाइल्याण्डमा पछिल्लो २०० वर्षयताकै ठूलो भूकम्प मानिएको छ ।
भीषण विनाशका कारण म्यानमारका ६ राज्यहरू र थाइल्याण्डभरि आपतकाल घोषणा गरिएको छ ।
रेडक्रसले बिजुली आपूर्ति अवरुद्ध भएकाले माण्डले, सागाइङ र दक्षिणी शान राज्यसम्म पुग्न प्रयासरत स्वयंसेवी टोलीलाई समस्या भइरहेको जनाएको छ।
रेडक्रसले दिएको प्रारम्भिक जानकारीका आधारमा भूकम्पबाट ठूलो क्षति भएको बताएको छ । हाल उनीहरू मानवीय सहायता जुटाउनका लागि थप विवरण संकलन गरिरहेका छन् ।
भूकम्प प्रभावित म्यानमार र थाइल्याण्डमा राहत तथा सहयोगका लागि रेडक्रसले १ लाख ५० हजार डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो रकम भोजन, पानी, कम्बल, तिरपाल र हाइजिन किटजस्ता अत्यावश्यक सामग्रीमा खर्च गरिनेछ ।




















