काठमाडाैं । सशस्त्र प्रहरी बलले आज दिउँसो काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट करीव ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरु खोटाङको लामिडाँडा–७ घर भई काठमाडौं महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षिय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौं महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षिय लक्ष्मि परियार भएकाे शसस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरुलाई लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा लागूऔषधसहित नियन्त्रणमा लिइएको हो ।
साथै उनीहरुले प्रयोग गरिरहेको २ थान मोटरसाईकल, ६ थान मोवाईल र केही नगद समेत बरामद गरिएको उनले जानकारी दिए ।
नियन्त्रणमा लिईएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहिको लागि नेपाल प्रहरीलाइ बुझाईएको छ ।
यसअघि पनि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट ५/५ किलोग्राम सोही लागूऔषधसहित ३ जना युवकलाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएको थियो ।


