गोरखा । उत्तरी गोरखामा आज बिहान १ जना ट्रेकिङ गाईडको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा सोलुखुम्बु जिल्ला, सोताङ गाउँपालिका–४ घर भएका ५४ बर्षिय सार्की शेर्पा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
अमेरिकी नागरकि लिएर मनासलु पद यात्रामा निस्किएका शेर्पाको धार्चे गाउँपालिका–३ को खोर्लाबेशी स्थित बुढी गण्डकी नदी किनारमा लडेर ज्यान गएको हो ।
बिहान ९ बजे हिडीरहेका शेर्पा अचानक लड्न पुग्दा उनको टाउँकोमा गंभिर चोट लागेको थियो । घाईते शेर्पालाई स्थानिय धार्चे आधारभूत अस्पतालमा उपचारको क्रममा बिहान ९ः५० बजे चिकित्सकहरुले मृत्त घोषित गरेको सूचना अधिकारी सुवेदीले बताए ।
ईन्फो नेपाल ट्रेकिङ एजेन्सी मार्फत आएका शेर्पाको शव अहिले सोही अस्पतालमा राखिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
घटना स्थलमा प्रहरी चौकी माछाखोलाबाट प्रहरी खटिएको र अनुसन्धान भई रहेको पनि सूचना अधिकारी सुवेदीले बताए ।


