गोरखा । गोरखा जिल्लाको केही स्थानमा एआई एक्सरे मार्फत क्षयरोग (टिबी) को परिक्षण सुरु गरीएको छ । जिल्लाका ३ स्थानिय तहको ७ वटा वडामा परिक्षण भएको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
एक्सरे मार्फत गोरखा नगरपालिका र बारपाक सुलिकोट तथा धार्चे गाउँपालिकामा परिक्षण गरीएको कार्यालयका ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्यालले जानकारी दिए । ३ चरणमा २ हजार ३२५ जनाको एक्सरे गर्दा ४४ जनामा टिबी रोगको संक्रमीतहरु फेला परेका थिए ।
पहिलो चरणमा गएको कार्तिक महिनामा बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र ४ मा गरीएको थियो । २ दिन दुवै वडामा ५४५ जनाको एक्सरे भएको र ४६ जनाको नमूना समेत संकलन गरीएको थियो ।
निरिक्षक अर्यालले दिएको जानकारी अनुसार ४६ जनाको नमूना संकलन गर्दा ४ जना महिला र ६ जना पुरुष गरी १० जनामा टिबी रोगको संक्रमण देखिएको थियो ।
दोस्रो चरणमा भिमसेन थापा गाउँपालिकाको वडा नम्बर ५ र ७ मा १ हजार २६ जनाको एक्सरे गरिएको र १०८ जनाको नमूना संकलन गर्दा १८ जना टिबीका संक्रमीत फेला परेका थिए । जसमा १० जना महिला र ८ जना पुरुष भएको उनले जानकारी दिए । भिमसेन थापा गाउँपालिकामा गएको पौष महिनामा सम्पन्न भएको थियो ।
त्यस्तैगरी, तेस्रो चरणमा धार्चे गाउँपालिकामा चैत्र ४ गते र गोरखा नगरपालिकामा चैत्र ६ गते एआई एक्सरे गरीएको थियो । धार्चे गाउँपालिका १ मा २७६ जनाको एक्सरे गर्दा ३० जनाको नमूना संकलन गरीएको थियो ।
धार्चेमा ३ जना महिला र ४ जना पुरुषमा टिबी रोगका संक्रमीत फेला परेका थिए ।
गोरखा नगरपालिकाको वडा नम्बर ५, ७ र ८ मा कुल ४७८ जनाको एआई एक्सरे गरीएको पनि निरिक्षक अर्यालले बताए । ति वडाहरुबाट ३० जनाको नमूना संकलन गरीएकोमा २ जना महिला र ७ जना पुरुष संक्रमीत देखिएका थिए ।
कुल संक्रमीत ४४ जना मध्ये १९ जना महिला र २५ जना पुरुष भएको पनि कार्यालयले जानकारी दिएको छ ।
यस्तै प्रकारको परिक्षण केही दिन भित्रै अजिरकोट गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकामा गर्ने तयारी कार्यालयले गरीरहेको छ ।
एआई एक्सरे मेसिनबाट क्षयरोग कसरी पहिचान हुन्छ ?
नेपालमा हालसम्म परम्परागत एक्सरेबाट क्षयरोगको परीक्षण हुँदै आएकोमा केही महिनादेखि एआई (आर्टिफिसियल इन्टिलिजेन्स) चेस्ट एक्सरे मेसिनबाट गरिन थालेको हो । ग्लोबल फण्डको आर्थिक सहायतामा नेपालमा ९ वटा यस्ता एक्सरे मेसिन भदौ महिनामा राष्ट्रिय क्षयरोग केन्द्रले भित्राइएको हो ।
गण्डकी प्रदेशको प्रदेश क्षयरोग केन्द्रमा मात्र रहेको यो मेशिनले प्रदेश भरीका जिल्लाहरुलाई सेवा दिनेगरी ल्याइएको हो ।
एआई चेस्ट एक्सरे मेसिन विकसित राष्ट्रमा धेरै वर्ष अघिदेखि प्रयोगमा आइसकेको भए पनि नेपालमा पहिलो पटक ल्याइएको हो ।
यो उपकरण झोलामा बोकेर जहाँ पनि लैजान सकिन्छ । समुदायस्तरमा पुगेर यो मेसिनको सहायतामा क्षयरोगी पहिचान गर्न सहज हुने गर्दछ । त्यसैले यो क्षयरोगीको उपचारमा उपयोगी हुने विश्वास गरिन्छ । यो मेसिनमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले एक्सरे गर्नेबित्तिकै रिपोर्ट हेर्न मिल्छ ।
यो एक्सरे मेसिनले बिरामीलाई रगतको जिन परीक्षण गर्न आवश्यक भए-नभएको जनाउ पनि दिन्छ । यो मेसिनबाट ४०० जनाको एक्सरे गरेमा ५०-६० जनाको मात्र खकार जाँच्नुपर्ने हुन्छ । अर्थात् यसले खकार जाँच्नुपर्ने भए त्यसको जनाउ दिन्छ । यसअघि कुनै शिविरमा गएर ४०० जनाको एक्सरे गरेमा ती सबैको खकार परीक्षण गर्नुपथ्र्याे ।
पुरानो विधिबाट क्षयरोगी पहिचान गर्दा खर्च र समय बढी लाग्थ्यो । अब नयाँ प्रविधिको एक्सरे मेसिनबाट समय र खर्च दुवैको बचत हुन्छ । एआई एक्सरे मेसिन ब्याट्रीबाट पनि चल्छ । एक पटक चार्ज गरेपछि २०० जनासम्मको एक्सरे गर्न सकिन्छ । झोलामा बोेकेर लैजान सकिने भएकाले यसबाट गाउँगाउँका बिरामी लाभान्वित हुने गर्दछ ।
प्रदेश सरकारले स्थानीय तहसँगको समवन्यमा समुदायस्तरमा शिविर राखी एकै पटक धेरैजनाको परीक्षण गर्ने गर्दछ ।




