एजेन्सी । साउदी अरेबियामा ३ दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका बीबीसीले जनाएको छ ।
३ वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३० दिनसम्म रोक्ने सहमति भएको बीबीसीले जनाएको हाे । याे युद्ध बिराममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको ह्वाइट हाउसले दाबी गरेको छ ।
यद्यपि रुसले युद्ध विराम लागू हुनु पहिले अमेरिकाले आफूलाई कृषि र मल निर्यातका लागि विश्वबजारमा पुनः पहुँच पुर्याउन मद्दत गर्नुपर्ने सर्त राखेको छ । त्यस्तै बैंक, बीमा कम्पनी र खाद्य निर्यातकर्तामाथि लागेको केही प्रतिबन्ध पनि हटाइनु पर्ने बताएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने २ देशबीच युद्धविराम गर्न सहमत भए पनि रुसकाे शर्तहरुबारे झुठ बोलिरहेको आरोप लगाएका छन् । रुसले युद्धविराम कार्यान्वयन गर्नेमा जेलेन्स्की अझै सशंकित रहेको खबरमा उल्लेख छ । युद्धविरामको कार्यान्वयन र त्यसको निगरानी कसरी गरिन्छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।




















