फाईल तस्बिर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा समेत व्यक्त गरेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गर्दै नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
तर, सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक रहेको प्रचण्डको भनाइ छ ।
उनले सामाजिक सञ्जालमार्फत निर्णयप्रति आपत्ति जनाउँदै लेखेका छन्, ‘आशा गरौं यो खबर असत्य सावित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’
सरकारले कुलमानमाथि लामो समयदेखि स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको प्रचण्डको भनाइ छ ।


