गोरखा । गोरखा जिल्लाको ११ स्थानिय तहमा १३३ जनामा क्षयरोग (टिभी) संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५५ जना महिला र ७८ जना पुरुष भएको जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
०८१ साल साउन महिनादेखी फागुन महिनासम्म उक्त संख्यामा टिभीका बिरामीहरु फेला परेको जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी नवराज खड्काले बताए ।
भोली परेको विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै सूचना अधिकारी खड्काले सबैभन्दा धेरै बारपाक सुलीकोटमा १३ जना महिला र १३ जना पुरुष गरी २६ जनामा संक्रमण देखिएको जानकारी दिए ।
त्यस्तैगरी, भिमसेन थापा गाउँपालिमा १२ जना महिला र १३ जना पुरुष गरी २५ जना, गोरखा नगरपालिकामा ८ जना महिला र १३ जना पुरुष गरी २१ जना र पालुङटार नगरपालिकामा ४ जना महिला र १५ जना पुरुष गरी कुल १९ जनामा टिभीको संक्रमण देखिएको छ ।
उता आरुघाट गाउँपालिमा ६ जना महिला र ८ जना पुरुष गरी १४ जना, शहिद लखन गाउँपालिमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जनामा, अजिरकोट गाउँपालिकामा १ जना महिला र ४ जना पुरुष गरी ५ जना, धार्चे गाउँपालिकामा ३ जना महिला र २ जना पुरुष गरी ५ जनामा देखिएको पनि सूचना अधिकारी खड्काले जानकारी दिए ।
त्यस्तै सिरानचोक गाउँपालिमा ३ जना महिला र १ जना पुरुष गरी ४ जना, गण्डकी गाउँपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जना तथा चुम नुब्री गाउँपालिकामा १–१ जना महिला पुरुषमा संक्रमण देखिएको छ ।
गत आर्थिक बर्ष ५४१ जना संक्रमित पत्ता लगाउने उद्वेश्य रहेकोमा २३२ जनाको मात्र पत्ता लगाएको कार्यालयले यो बर्ष ५५३ जनाको लक्ष्य राखिएकोमा गएको ८ महिनामा मात्रै १३३ जनामा देखिएको हो ।
यो बर्ष संक्रमितहरुको संख्या बढ्ने अनुमान कार्यालयले गरेको छ । अबको ४ महिनामा गर्मी मौषम भएकोले संक्रमितहरु धेरै फेला पर्ने सूचना अधिकारी खड्लको बताए ।



