झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट सशस्त्र प्रहरीले १ हजार ६३६ किलो गाँजासहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर–१ बराह बाहिनी मुख्यालय र नम्बर–२ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा टोलीले हिजो गाँजासहित समातेको शसस्त्र प्रहरी बल नेपालका शसस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित धनकुटाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ बस्ने गंगाबहादुर बस्नेत पक्राउ परेका छन् ।
साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ र ५ थान मोबाइल सेटसमेत बरामद भएको सह-प्रबक्ता थापाले जानकारी दिए ।
बरामद गाँजा, ट्रक र पक्राउ परेका राई र बस्नेतलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको उनले बताए ।


