काठमाडाैं । आज देशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदली अनि बाँकी भागमा मौसम सफा छ ।
कर्णालीका थोरै तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज बिहान मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा समेत भएको छ । ती क्षेत्रका थोरै ठाउँमा दिउँसो पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेकाे छ ।


