एजेन्सी । रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरबमा आज वार्ता सुरु हुदै छ । रुस युक्रेनबीच ३ वर्षदेखि चलिरहेको युद्ध अन्त्यका लागि युक्रेनी र अमेरिकी अधिकारीहरूबीच साउदी अरबमा आज महत्त्वपूर्ण वार्ता हुन लागेकाे हाे ।
वार्तामा युक्रेनबाट राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका कर्मचारी प्रमुख, रक्षा र विदेशमन्त्री तथा उच्च सैनिक अधिकारी सहभागी हुने बीबीसीले जनाएको छ । अमेरिकाबाट पनि उच्च अधिकारीहरु बैठकमा सहभागी हुनेछन् ।
वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज साउदी अरब जाँदै छन् ।
वार्ताको पूर्वसन्ध्यामा जेलेन्स्की साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्न साउदी अरब पुगेका छन् । तर उनी वार्तामा भने सहभागी नहुने खबरमा उल्लेख छ । रूस–युक्रेन युद्धकाबीच साउदीले विभिन्न विषयमा मध्यस्थकर्ताको भूमिका खेलेको छ ।


