फाईल तस्बिर
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् डीआईजी टेक तामाङ भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको बताउँछन् । उनका अनुसार जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराकाे १ साता बसाई पछी आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।
आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित छन् ।



