काठमाडाै । काठमाडाैं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तरता दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएकोमा महानगरपालिकाले अस्वीकार गरेको हो ।
गुरागाईंले काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै हिजो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा पत्र लेखेपछि मन्त्रालयले हिजै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडाैं महानगरमा पत्राचार भएको थियो । तर महानगरले मन्त्रालयको पत्रको जवाफ लेख्दै अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालन गर्न माग गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा परियोजनाहरूमा नकारात्मक प्रभावका साथै कानूनी झन्झट हुने महानगरको पत्रमा उल्लेख छ ।
काठमाडाैं महानगरपालिकाले आधिकारिक प्रकिया पूरा नगरी नक्शा पास गरेको भन्दै छानबिनअघि बढाएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा बस्न भनेको थियो ।



