फाईल तस्बिर
काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ को कार्यतालिका हेरफेर गरेको छ । फागुन १२ देखि अभियान सञ्चालन गर्दै आएको माओवादीले आजदेखिको अभियानकाे तालिकामा हेरफेर गरेको हो ।
जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान सम्बन्धी कार्यक्रमको कार्यतालिकामा महोत्तरीदेखि पश्चिममा अभियानका कार्यक्रम स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेकाेभन्दै कार्यतालिका परिवर्तन गरिएको माओवादीले जनाएको छ ।
जसअनुसार महोत्तरीमा आज अभियान सकेर सर्लाहीमा फागुन २३, रौतहटमा फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ । यस्तै मगर मोर्चाको उद्घाटन बुटवलमा फागुन२८ हुने छ भने त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।
चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन नहुने पनि माओबादीले जनाएकाे छ ।
यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको अभियान अब १२ गतेमात्रै सकिने भएको माओवादीको भनाइ छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली सहभागीता रहेकाे छ ।


