प्रतिकात्मक तस्वीर
पर्वत । पर्वतमा आज बिहान भएकाे जीप दुर्घटनामा परी २ जनाकाे ज्यान गएकाे छ भने अन्य ७ जना घाईते भएका छन् ।
प्राप्त विवरण अनुसार बिहादी गाउँपालिकामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ र साेही दुर्घटनामा अन्य ७ जना घाइते भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ गुडिरहेकाे लु १ ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले बताए ।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने १ बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


