काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणदेखि आंशिक बदलीको अवस्था रहेकाे छ । तराई मधेशमा भने हुस्सु लागेको र बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको हुनसक्ने सम्भावना पनि छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ । हिउँदयामको अन्तिममा अस्तिदेखि पश्चिमी वायु सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको हो । हिउँदेयामको अन्तिम दिन हिजो देशका धेरै ठाउँमा वर्षा र हिमपात भएकाे छ ।
आजदेखि प्रि–मनसुन शुरू भएको छ ।


