काठमाडाैं । देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको माछापुच्छ्रेमा २०.४ मिलिमिटर पानी परेको छ । पश्चिम र पूर्वका विभिन्न ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ ।
यसवर्षको हिउँदयाम सकिँदै गर्दा वर्षा र हिमपात गराउने गरी पश्चिमी वायु सक्रिय भएको हो । यसको असर पश्चिममा बढी परेको छ ।
भोलिसम्म नै देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको जम्मू काश्मीर, हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।
मधेश र लुम्बिनीबाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज र भोलि हल्का हिमपातको सम्भावना छ । भोलि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।


