एजेन्सी । हमासले थप ४ जना बन्धकको शव इसराइललाई हस्तान्तरण गरेको छ । बिहिबार बिहान हमासले रेडक्रस मार्फत इसराइललाई ४ वटा शव हस्तान्तरण गरेको हो ।
यो पटक हमासले हस्तान्तरण गरेको चारै शव पुरूषको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएकाे छ । शव ८५ वर्षका श्लोमो मन्त्जुर, ६९ वर्षका इज्हक इलगारत तथा ४९/४९ वर्षका त्साची इदान र ओहाद याहालोमीकाे भएकाे समाचारमा उल्लेख गरिएकाे छ ।
शव इसराइल पुर्याइएको र फरेन्सिक चेकजाँच भइरहेको टाइम्स अफ इसराइलले जनाएको छ । हमासले यसअघि ४ जनाको शव हस्तान्तरण गरेको थियो । त्यतिबेला परीक्षण गर्दा ४ मध्ये १ शव पहिचान नखुलेको व्यक्तिको रहेको र बन्धकको नरहेको पाएको थियो ।
इसराइलको दबाबपछि हमासले गत शुक्रबार बन्धकको शव हस्तान्तरण गरेको थियो । हमासले युद्धविराम सम्झौता कार्यान्वयन नगरेको भनेर इसराइलले गत साता बन्धकको बदलामा कैदीहरू छाडेन ।
अघिल्लो साता हमासले ६ जना बन्धक रिहा गरेको थियो । त्यसको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदी छाड्ने भनिएको थियो । तर पटकपटक युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएर इसराइलले त्यस दिन बन्दी रिहा गरेको थिएन ।
बिहीबार भने इसराइलले ६२० जना कैदी छाडेको समाचार संस्था रोयटर्सले जनाएको छ । तीमध्ये १५१ जना आजिवन कैद सजाय तोकिएका व्यक्तिहरू रहेको भनिएको छ ।


