पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज बिहान स्थानिय दुई पक्ष बिच भएको झडपका क्रममा २१ जना घाईते भएका छन् । प्रेम सम्बन्धको विषयलाई लिएर पाल्हीनन्दन ३ बेलासपुरमा भएको विवादको क्रममा झडप हुदा १६ जना प्रहरी सहित ५ जना घाईते भएका छन् ।
घाईते मध्ये ३५ वर्षिय बिजय धवलको अवस्था गम्भिर छ । उनको भैरहवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनुभयो । आक्रोशित स्थानियले झडप रोक्न पुगेको प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा पनि आगजनी गरेका छन् ।
प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच भएको झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।
आगजनीबाट केटी पक्षका आफन्तको घरमा समेत क्षति पुगेको छ । केटा र केटी पक्षको घर सोही वडाको छोट्की कुस्मा गाउँमा छ । केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया(मुसलमान) को घर भने बेलासपुरमा छ । केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवार्ड गोदाममा आगजनी गरेको बताईएको छ ।
धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिदा झडप भएको हो । प्रहरीले घटना नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरि अवस्था समान्य बनाईएको प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए ।




