प्रतिकात्मक तस्बिर
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आराेपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४६ वर्षीया कल्पना रावत भएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएकाे छ ।
पक्राउ परेका मध्ये सरोजले माल्टा पठाइदिन्छु भन्दै १ जना बाट ३ लाख ६४ हजार रूपैयाँ र कल्पनाले अल्बानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ८२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएपछी पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीकाे टाेलीले उनीहरुलाइ पक्राउ गरेकाे थियाे ।
प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-२६ बाट र कल्पनालाई ललितपुर महानगरपालिका-१५ बाट पक्राउ गरेको जनाएकाे छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु जनाएकाे छ ।




















