काठमाडौं । लेखक चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो ।
फोक्सोमा पानी जमेर २ साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा निधन भएको हो ।
तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले परिचित थिए । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो ।
गौतमले १ हजार ४०० पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका थिए ।


