काठमाडाैं । कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भएको छ ।
पछिल्लाे १२ घण्टामा मोरङको केराबारी, सप्तरीको रुपेनी बजारलगायतका क्षेत्रमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
महाशाखाका अनुसार झापा, इलाम सङ्खुवासभा, मकवानपुर, भक्तपुरलगायतका ठाउँमा पनि छिटपुट पानी परेको थियाे ।
आज दिउँसो पनि देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
भोलि (मंगलबार) देखि मौसममा थप सुधार हुने महाशाखाले जनाएकाे छ ।
यसैबीच तराईको तापक्रम बढ्न थालेको छ । महाशाखाका अनुसार हिजो जनकपुर र भैरहवाको अधिक्तम तापक्रम ३० डिग्री पुगेको छ भने नेपालगन्ज र धनगढीको २८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।




















