फाईल तस्बिर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन् ।
‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यसले बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न छैन,’ नेपालले प्रतिवेदनमा भनेका छन् ।
साना दलहरूलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरूलाई नामेट बनाउने र अनेक किसिमका नियन्त्रणका तरिका अपनाएर देशलाई तानाशाही लागू गर्ने कुचेष्टा सरकारले गरिरहेको उनको भनाइ छ ।




















