फाईल तस्बिर
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाली काँग्रेस अहिले सरकारमा नरहेको बताउएका छन् । मङ्गलबार नेपाल प्रेस युनियनकाे शाखा अध्यक्षहरूले राष्ट्रिय सम्मेलनकाे उद्घाटन गर्दै कोइरालाले काँग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरेका हुन् ।
नेता कोइरालाले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको बताउदै बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको उनले आरोप लगाए । उनले काँग्रेस सरकारमा नरहेको बताएपनि अहिले काँग्रेस र एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ ।
नेता कोइरालाले संयन्त्रद्वारा सरकार चलाउने कुरा कम्युनिस्ट / साम्यवादी देशहरूमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने प्रष्ट्याए । उनले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए ।
नेता कोइरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाएपनि सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाए । सरकारका महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गरेको उनको आरोप लगाए ।
उनले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्ने गरी ल्याइएको नेता कोइरालाको भनाई थियो । नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने उनले बताए । उनले कुनै पनि हालतमा सरकारले संसद्मा पेस गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरूसँग छलफलपछि मात्रै ल्याउनुपर्ने बताए ।


