काठमाडाैं । अघिल्ला २ वटा हिउँद सुक्खा भएकोमा यस वर्ष त्योभन्दा बढी सुक्खा हुने जोखिम बढेको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ ।
यो वर्षको हिउँद सकिन १६ दिन मात्र बाँकी रहँदा औसत ९.५ प्रतिशत मात्रै पानी परेको छ । यसपालीको हिउँदमा पानी पार्ने केही प्रणाली भित्रिए पनि मध्य नेपाल पार गरेर पूर्वतर्फ जानै नसकेको र पोखरालगायत गण्डकी प्रदेशमै कम पानी परेको छ ।
अबको १५ दिनपछि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना भए पनि पश्चिममै सीमित हुने सभावना रहेकाे छ । सामान्यतया २५ प्रतिशत भन्दा कम पानी पर्नुलाई चरम सुक्खा भनिन्छ ।
यसवर्ष १० प्रतिशत पानी पनि परेको छैन । हिउँद सुक्खा हुँदा डढेलोका घटना बढिसकेका छन् । कृषीबालीमा समस्या आइसकेको छ ।
प्रदुषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन ।
यसैबीच आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । मध्य र पूर्वी तराईका केही ठाउँमा भने बिहान हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


