फाईल तस्बिर
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज चितवन जिल्ला अदालतमा उपस्थित गराउदै छ । हिजाे भएकाे थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीकाे जिम्मामा न्यायिक हिरासतमा पठाइएको हाे ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई आज अर्थात बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको थियाे ।
जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि आज उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।
बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस सकिएको छ ।
सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याए । अन्यको बहस आज अदालत खुलेपछि सुरु हुने छ । थुनछेक बहस सकिएपछी रबिलाई धराैटीमा छाड्ने वा हिरासत पठाउने आदेश आज आउने छ ।




















