चितवन । रवि लामिछानेलाई संगठित अपराधबाट उन्मुक्ति दिएकाेभन्दै चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ ।
लुइँटेललाई महान्यायाधीवक्ताको कार्यालयमा तानेर उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधीवक्ता रवि न्यौपानेलाई चितवन सरुवा गरिएको हाे ।
मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा ३२ जनाविरुद्ध अभियोजन गर्दा १२ जनालाई मात्रै संगठित अपराध र ठगीको मुद्दा चलाएको थियो । अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।
गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित ३ जनालाई दुवै मुद्दा चलाउँदा प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलाई भने ठगीको मुद्दामात्रै चलाएको थियो ।
सरकारी वकिलको कार्यालय चितवनले लामिछानेको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकको संलग्नता नदेखिएकाले संगठित अपराधमा मुद्दा नचलाएको जानकारी दिएकाे छ ।
साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।




















