फाइल फाेटाे
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र राख्न न्यूनतम विद्यार्थी सङ्ख्या तोकेपछि परीक्षा केन्द्र टाढा पर्ने संभावना बढेर गएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर न्यूनतम विद्यार्थी सङ्ख्या रहनेगरी मात्रै परीक्षा केन्द्र तोक्न भनेपछि समस्या पर्ने देखिएकाे हो ।
बोर्डका अनुसार दुर्गम र हिमाली क्षेत्रमा एउटा परीक्षा केन्द्रमा कम्तीमा १५० जना, पहाडी क्षेत्रमा २५० जना तथा तराई/मधेस र काठमाडाैं उपत्यकामा कम्तीमा ३०० जना विद्यार्थी रहने गरी केन्द्र निर्धारण गर्नुपर्छ । तर हिमाली क्षेत्रमा १५० र पहाडी क्षेत्रमा २५० विद्यार्थी जुटाउन धेरै विद्यालयका लागि एउटै परीक्षा केन्द्र तोक्नुपर्ने हुन्छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार शिक्षाको गुणस्तर कायम गर्न परीक्षा पनि महत्वपूर्ण रहेकोले कडाइ गर्न लागेको जनाएकाे छ । यो पुरानै व्यवस्था भए पनि यस वर्ष कार्यान्वयनमा कडाइ गरेको हाे ।
कुनै पालिकाभर परीक्षा केन्द्र नहुने र त्यहाँका विद्यार्थी निकै टाढा पुग्नुपर्ने अवस्थामा जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरेर न्यूनतम मापदण्डभन्दा कम विद्यार्थी राखेर पनि केन्द्र तोक्न सक्ने परीक्षा नियन्त्रक कार्यालयले जनाएकाे छ ।



