एजेन्सी । अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा अहिलेसम्म ३० जनाकाे शव प्राप्त भएकाे छ । विमानमा ६४ जना र हेलिकोप्टरमा ३ जना रहेका थिए ।
व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले वाशिङ्गटन डीसी नजिकै हिजो भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।
एनटीएसबीका अनुसन्धान अधिकारीहरुले दुर्घटनाबारे उनीहरुले धेरै जानकारी पाएको तर आधिकारिक पुष्टि गर्न केही समय लाग्ने बताएकाे बीबीसीले जनाएको छ । प्रारम्भिक प्रतिवेदन ३० दिनमा जारी गरिने खबरमा उल्लेख छ ।
अहिलेसम्म ब्ल्याक बक्स फेला नपरेको अनुसन्धानकर्ताले बताएका छन् ।
वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।


