एजेन्सी । भारतको प्रयागराज भइरहेकाे महाकुम्भमा भागदौड हुँदा कम्तीमा पनि १५ जनाको ज्यान गएको आशङ्का गरिएको छ । विशाल धार्मिक उत्सवको क्रममा भागदौड हुँदा उक्त संख्याकाे ज्यान गएको आशङ्का गरिएको हाे ।
घटनामा धेरै मानिसहरु घाइते भएकाे सुरक्षाकर्मीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । गएराति १:३० बजेतिर कुम्भ मेलाका क्रममा एउटा घाटमा भागदौड भएको थियो ।
घटनामा घाइते भएका र ज्यान गुमाएकाहरुको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी नै छैन ।
विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामध्येको कुम्भ मेलामा अमृत स्नानका दिन आज एकैदिन दश करोडभन्दा धेरै मानिस उपस्थित हुने अपेक्षा गरिएको छ ।
भागदौडका कारण अमृत स्नान रद्ध भएको छ । तर अझै हजारौँ मानिसहरुले पवित्र स्नान लिन खोजिरहेका छन् । कुम्भ मेलामा भएको भागदौडपछि सुरक्षाकर्मीले भीडभाडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
गएको जनवरी १३ तारिखदेखि शुरू भएको महाकुम्भमा अहिलेसम्म १५ करोड मानिसले गङ्गामा स्नान गरेका छन् ।


