फाईल तस्बिर
ताप्लेजुङ । ताप्लेजुङमा निर्माण हुन लागेकाे पाथीभरा क्षेत्रकाे केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका मघ्य ३ जना प्रदर्शनकारी गंभिर घाइते भएका छन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गोली लाग्दा ४ जना प्रदर्शनकारी घाइते भएका थिए । उनीहरु मघ्य गोली लागेका ३ जनाको अवस्था गम्भीर देखिएकाे हाे ।
प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर छ ।
ति सबैकाे जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक (डिएसपी) रवि रावलले जानकारी दिए ।
केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज आइतबारबाट आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।
यता सुरक्षाकर्मी तर्फ भने १२ जना घाइते भएकाे डिएसपी रावलले बताए । आन्दोलनरत पक्षले बलुडाडाबाट गुलेली र ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले गोली चलाएको थियाे ।




















