बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग आज ब्रेक थ्रु हुने भएकाे छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूजा गरेपछि ब्रेक थ्रु गरिन लागेकाे हाे । यसअघि गएको मङ्गलवार नै सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको थियो ।
कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित अरु मन्त्री र सांसदहरु पनि सहभागी हुनेछन् । १ हजार १२६ मिटर लामो सुरुङमार्गका लागि मुख्य टनेल खनेर झण्डै १.५ मिटर मात्रै बाँकी राखिएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गमा १०.५ मिटर चौडाई रहेको छ । उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् ।
मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अन्य कामहरु भने बाँकी रहेकाे छ । यो सुरुङ मार्गकाे ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति झण्डै ४० प्रतिशत रहेको छ ।
अबको २ वर्षपछि गाडी सञ्चालन गर्नेगरी काम भइरहेको पनि आयाेजनाले जनाएकाे छ ।


