एजेन्सी । भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ४ जना नेपालीले समेत ज्यान गुमाएकाे भारतीय प्रहरीले जानकारी दिएकाे छ ।
बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको हल्लाका कारण रेलबाट हामफालेर भाग्ने क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा ति यात्रुहरुको ज्यान गएकाे भारतीय सञ्चार माध्यमले समाचारमा लेखेकाे छ । यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको मात्र सनाखत भएको छ ।
गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए । त्यही समयमा अर्को रेलमा ठोक्किर पनि केही मानिसको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
ज्यान गुमाउने नेपालीहरुमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् । तर उनीहरुकाे नेपालकाे ठेगाना भने खुवाइएकाे छैन ।
बिबिसी हिन्दीका अनुसार महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण घटनाको निगरानी भइरहेको र तुरुन्तै सबै आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएको भनिएकाे छ ।


