फाईल तस्बिर
रुपन्देही । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् ।
लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् । लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।
काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।
रविले सुप्रिम सहकारीबाट १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै उनी सहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।


