एजेन्सी । टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अन्य ५० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान ३:३० बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ तले ग्राण्ड कार्टेल नामको होटलमा आगलागी भएको बीबीसीले जनाएको छ ।
आगलागीको समयमा २३४ जना होटलमा रहेकाे पनि खबरमा उल्लेख गरिएकाे छ । टर्कीका स्थानीय सञ्चारमाध्यमअनुसार २ जनाको झ्यालबाट हाम फालेर ज्यान गएको छ ।
बाेलुको पहाडी भू-भाग स्कीइङका लागि लोकप्रिय रहेकाले यो समयमा विद्यालय बिदा परेकाले इस्तानबुल र अङ्काराबाट धेरै मानिसहरू बिदा मनाउन त्यहाँ गएका थिए ।
आगलागीको घटनाबारे अनुसन्धानका लागि भन्दै होटल मालिकसहित ९ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेकाे प्रहरी अधिकारीले बताएका छन् ।


