पाेखरा । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी सुरु भएको छ ।
सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले २ भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढाएकाे जानकारी दिएका हुन् ।
मन्त्रालयले आइतबार तनहुँको दमौलीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा सुझाव सङ्कलन समेत गरेको छ ।
प्रदेश सरकारले मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा बनाउन विधेयक तयार गरेको छ । त्यही विधेयकका आधारमा प्रदेशका विभिन्न जिल्लामा पुगेर सुझाव सङ्कलन गरिएको मन्त्री थापाले बताए ।
गण्डकी प्रदेशभित्र बहुसङ्ख्यक नागरिकले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, संवद्धर्धन न तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा नागरिकको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धि गर्न खोजिएको मन्त्री थापाको भनाइ छ ।
गण्डकी प्रदेशमा मगर समुदायको बसोबास १८.८ प्रतिशत र गुरुङ समुदायको ११ प्रतिशत छ । गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदायको रुपमा छ ।




















