पोखरा । डा. निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको छ । रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेकाे आराेपमा आज शुक्रबार जिल्ला अदालत कास्कीमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए । शुक्रबार नै जिल्ला अदालत कास्कीमा बयान गराइएको छ भने थुनछेक बहस पनि गरिएको छ ।
यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए । त्यतिबेला न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो ।
विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पुर्याउने, गोपनियता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामासमेत प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि छ ।
प्रहरी कन्ट्रोल टिममा रहेका प्रहरी काममा व्यस्त रहेको बेलामा अनधिकृत रुपमा सीसीटीभी मनिटरबाट लामिछाने सुतिरहेको तस्वीर खिचेर सामाजिक सञ्जालमा उनले राखेको अभियोजन पत्रमा उल्लेख छ ।
भुसाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरिएको छ । जसमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


