धनगढी । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटल हराएकाे हाे ।
गण्डकीले दिएको ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । गण्डकीका आकृती तिवारी र अपेक्षा बुढाथोकीले समान १-१ विकेट लिए ।
खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको गण्डकीले ७ विकेट गुमाएर ५५ रन बनाएको थियो ।
गण्डकीका लागि सबैभन्दा धेरै रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले ४ विकेट लिइन् । यस्तै जानकी थापा र रितु कनौजियाले समान १-१ विकेट लिए ।
प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।



