बारा । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम अगाडि बढाइने भएको छ ।
मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।
अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डीपीआर निर्माण भइरहेको नेपाल आयल निगमले जनाएकाे छ ।
पाइप लाइन विस्तार गरी लोथरमा १ लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने गरी काम अघि बढाउन लागिएकाे हाे । अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार भई सञ्चालमा आएपछि पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव नहुने निगमको विश्वास छ ।
यसैगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएसँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण शुरू भएको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएको र तत्काल परीक्षणका लागि पाइप लाइनबाटै पेट्रोल र मट्टीतेल ल्याइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जानकारी दिएकाे छ । योसँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारी भइरहेको छ ।
यही जनवरीदेखि पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने निगमले जनाएकाे छ ।


