साङ्केतिक तस्वीर
एजेन्सी । बर्ड फ्लुबाट अमेरिकामा पहिलो व्यक्तिको ज्यान गएको छ । अमेरिकी राज्य लुइसियानाका १ जना बिरामी बर्ड फ्लुको एच फाइभ एन वनबाट ज्यान गुमाउने पहिलो व्यक्ति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
लुइसियाना स्वास्थ्य विभागले बिरामीको उमेर ६५ वर्ष रहेको जनाएको छ । मृतक व्यक्ति जङ्गली चरासँग घुलमिल भइरहने हुँदा उनलाई बर्ड फ्लु लागेको खबरमा उल्लेख छ । विभागले अरू कुनै व्यक्तिमा यस्तो सङ्क्रमण नदेखिएको जनाएको छ ।
१ जनाको ज्यान गए पनि आममानिसमा अहिले कुनै जोखिम नरहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चरा, कुखुरा वा गाईहरूसँग काम गर्ने व्यक्तिहरूलाई भने केही जोखिम रहेको छ । डाक्टरहरूले एच फाइभ एन वन लागिसकेपछि बचाउने उपाय नभएकाले रोग लाग्नै नदिनु बच्ने एकमात्र उपाय भएको बताएका छन् ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मानिसलाई सतर्क रहन आग्रह गरेको छ । सन् २०२४ देखि संयुक्त राज्य अमेरिकामा ६६ जनामा एच फाइभ एन वन बर्ड फ्लु पुष्टि भएको छ । संयुक्त राज्य अमेरिकाबाहिर ९५० जनाभन्दा धेरै जनामा सङ्क्रमण देखिएको छ ।



