काठमाडाैं । आज बिहान चीनको तिब्बतमा ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा रहेको पुष्टि भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । यो भूकम्पको धक्का नेपालकाे सबै क्षेत्रमा महसुस गरिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि नागरिक घरबाहिर निस्किएका छन् ।
यसैबीच भूकम्पको धक्कापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीहरुलाई सतर्क रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बेलाबेला स–साना भूकम्पको धक्का आइरहेकाे भन्दै सबैलाई सतर्क रहन, सुरक्षित बस्न आग्रह गरेका हुन् ।
तिब्बती क्षेत्रमा गएकाे उक्त भूकम्पपछी ५ रेक्टर स्केलका अन्य भूकम्पका धक्काहरु धेरैपटक गइसकेकाे छ ।
भूकम्पले पुराना तथा कमजोर संरचनामा क्षति पुर्याउने भएकाले नेपालकाे उत्तरी क्षेत्रमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।




















