काठमाडाैं । आज र भोलि पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण हिजोदेखि नै मौसम बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू-भागकाे केही स्थानमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।
अन्य प्रदेशका केही स्थानमा पनी छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज बेलुकीदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना छ ।
तराईमा भने बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् ।
तराईमा अझै केही दिन हुस्सुसँगै चिसो स्याँठ चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




















