प्रतिकात्मक तस्वीर
काठमाडाैं । हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ ।
पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गएरातिदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरूमा हल्का हिमपात पनि भइरहेको महाशाखाले जनाएकाे छ ।
आज सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरूका साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडाैं उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरू तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
भोलि दिउँसोदेखि मौसममा सुधार हुने अनुमान गरीएकाे छ । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाकाे आग्रह छ ।


