काठमाडाैं । नेपाल भलिबल लिगको लोगो र नारा सार्वजनिक भएको छ । नेपालमा पहिलोपटक यसै बर्षकाे फागुनमा भलिबल लिग हुन लागेको हाे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र आयोजक केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नाराको हिजो सार्वजनिक गरिएको छ ।
कार्यक्रममा मन्त्री चौधरीले निजी क्षेत्रको आकर्षणले नेपाली खेलकुद क्षेत्रको विकासमा सघाउ पुग्ने बताए ।
केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले लिगमा विभिन्न ६ टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगिता सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घ र केडिया ग्रुपबीच यसअघि नै ७ वर्षका लागि सम्झौता भएको थियो ।




















