काठमाडाैं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । काठमाडाैंको जोरपाटीमा रहेको आफ्नै निवासमा सुतिरहेको ठाउँमा उनी आज मृत फेला परेको उनका आफन्तले बताएका छन् ।
उनका श्रीमानले बिहान सुनितालाई उठाउन खोज्दा अचेत अवस्थामा फेला पारेका थिए । लगत्तै नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकत्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मानसमेत गरेको थियो ।
पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर यही संस्थामार्फत बेचबिखनविरुद्ध क्रियाशील थिइन ।


